
किताब वा फिल्ममध्ये तपाई कुन रोज्नुहुन्छ ? यो प्रश्नमा धेरैजसोले आफ्नो रोजाइ फिल्म भएको बताए । किताब रुचाउनेहरुको जमात पनि कम छैन । फिल्म हेर्नका लागि सिनेमा हल पुग्न कलेज बङ्क हान्नेदेखि अफिसको विदा लिएर सिनेमा हलहरुमा झुम्ने गर्छन् एकथरि तन्नेरी अर्कोतिर किताबलाई छोड्न नसक्नेहरु पनि छन्, जो हलिउडकी हट नायिका एन्जेलिना जोलीको अभिनयको फिल्मी रोमान्सभन्दा पल्पसा क्याफेमा युद्धविभिषिका शिकार बनेकी पल्पसासँग आफूलाई रमाउँछन् ।
हुनत लहडे जमातहरु पढ्दैनन् भन्ने धेरैजसोको आँकलनलाई फेल बनाई दिन्छन् पढ्न्तेहरु । यस्ता युवा तन्नेरीहरु पनि छन् जो किताबको किरो बन्न रुचाउँछन् ।
कोर्सका किताबहरु मात्र पढ्ने क्याम्पसे ठिटाहरु अहिले पुस्तक प्रदर्शनी र सहरका राम्रा र धेरै पुस्तक पाइने पसलहरु खोज्दै हिड्छन् । बजारमा नयाँ पुस्तक आउने बित्तिकै तन्नेरीहरुमा त्यसको अध्ययन पश्चात विचार र विमर्श पनि शुरु हुन्छ । यसले सिर्जनामकमता र बौद्धिकता बढ्नमा पनि मद्दत गरेको छ । किताबलाई किताबकै रुपमा मात्र बेच्ने र पढ्नेभन्दा पनि अहिले किताबलाई जीवनकै एउटा अङ्गका रुपमा हेर्ने युवा जमात बढेको छ । "पुस्तक भनेको संसार हेर्ने र बुझ्ने स-साना आँखा रहेछन् ।" पढन्तेहरुको सामूहिक जवाफ हो यो ।
प्लस टु पढ्दै गरेका शिवानी थापा र नम्रता कार्की किताबको किरो बन्न रुचाउँछन् । कलेज कोर्सका किताबहरु मात्र होइनन्, उनीहरुले अरु थुप्रै किताबहरु पढिसकेका छन् । भर्खरैमात्र "पाउलो कोयल्होको "द अल्केमिस्ट" पढिसकेकी शिवानी अब जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढ्ने सोचमा छिन । भन्छिन्-"यो त अति नै रोमान्टिक उपन्यास रहेछ ।" नम्रता कार्की खग्रेन्द्र सङ्ग्रौलाको जुनकीरीको सङ्गीत पढिरहेकी छन् । भन्छिन्- "सङ्ग्रौलाले यसमा ग्रामीण नेपाली समाज, पिछडिएको दलित जाति र द्वन्द्व घाउहरु गहकिलो तरिकाले प्रस्तुत गरेका छन् ।"
पारिजातको "शिरिषको फूल", तसलिमाको "लज्जा" र "बिग्रेकी केटी" पढ्ने केटी सर्मिला राई अब नारायण वाग्लेको पल्पसा क्याफे र जोन उडको रुम टु रिड तिर लाग्नेछिन् ।
विशेषगरी "अङ्ग्रेजी साहित्य पढ्ने नेपाली तन्नेरीहरुको भीड छ । अर्नेस्ट हेमिङ्ग्वेको "द ओल्डम्यान एन्ड द सि", इरिक सेगलको "लभ स्टोरी", सम्राट उपाध्यायको "एरेस्टिङ गडइन काठमाडौं" जस्ता पुस्तक पढिसकेका छन् त्रिविका समाजशास्त्रका विधार्थी दिनेश पाठकले । पछिल्लो समयमा रुचाइएकी लेखिका हुन मञ्जुश्री थापा । उनको "टिल्ड अर्थ" पनि अहिलेको निकै रुचाइएको पुस्तक हो ।
यसैगरी जेके रोलिङको "हृयारी पोटर", डिज स्यालिन्जरको "द क्याचर इन दराइज" जस्ता पुस्तकबारे युवापुस्तामा धेरै बहस चल्ने गरेको छ ।
यौनप्रति पनि उदार बन्दै छ यो पुस्ता जसका कारण प्रेम र यौवनको खुल्ला बहस चल्छ उनीहरुमा । जसका कारण यौनजीवन र अनुभूतिमा आधारित एवं विवादित भ्लादिमिर बोबोकोबको नोबेल पुरस्कार प्राप्त उपन्यास "लोलिता" लाई पनि खोजी-खोजी पढ्छन् उनीहरु । भर्खरै लोलिता पढेर सकेका सुजन केसी भन्छन्-"लोलिता पढ्दा पाइने सुन्दरतम आनन्द र सन्तुष्टि त ब्राडपिटले अभिनय गरेका सिनेमामा पनि पाइदैन ।" पर्ल एस बकको "द गुड अर्थ"देखि ओशोका "सम्भोग से समाधितक" पढ्छन् तन्नेरी ।
राजनीतितिर रुचि भएका तन्नेरीहरु बढीजसो माक्र्सवादी र क्रान्तिकारी इतिहासका पुस्तकहरु पढ्छन् । कम्युनिष्ट क्रान्तिको कारुणिकता प्रष्टयाइएको मिखाइल आस्त्रोभास्कीको अग्नीदिक्षा उपन्यास हातमा च्यापिरहेका बेला भेटिएकी कुसुम शाक्य युवापुस्ता राजनीतिकप्रति बेखबर भन्नेहरुका लागि ठुलो बहसको विषय बन्न सक्छिन् । भन्छिन्-"अग्नीदिक्षाको पावेल कर्चागिनको बहादुरीलाई सलोट गर्नैपर्छ । र उनको प्रेमजीवन पनि कम रोचक छैन । मलाई लाग्छ यो सामाजिक सेवाभाव र मनोरञ्जन दृष्टिले यो उपन्यास उत्कृष्ठ नमुना नै हो ।" मिखाइल आफु नै बोल्सेभिक क्रान्तिका भुक्तभोगी हुन । जसका कारण पनि यो उपन्यास वास्तविकतासँग निकै नजिक छ । यसअघि उनले म्याक्सिम गोर्कीको आमा, र अन्य क्रान्तिकारी चिनियाँ उपन्यासहरु रातोतारा र बाल सिपाही च्याङकाज पनि पढिसकेकी छिन् । भन्छिन्-"कुर्सी र सत्ताका लागि मात्र लड्ने नेताहरुका लागि यी ओजस्वी उपन्यासहरु राम्रा पाठशाला बन्न सक्छन् । यी उपन्यासहरुमा वास्तविक किसानहरुको मुक्ति र समाज परिवर्तनको वकालत गरिएको छ । जसमा गरिबहरुको अधिकारको पक्षपोषण गरिएको छ । यसले एउटा राम्रो नेता बन्ने बाटो देखाइदिन्छ । क्रान्तिकारी नेता चेग्वेभाराको जीवनीपनि सबैभन्दा धेरै बिक्री हुने पुस्तकमा पर्छ । चेग्वेभाराको अनुहारलाई त बेल्ट, टिसर्ट, गाडीसम्म टाँस्ने होड चलेको तन्नेरीहरुको ।
किरण देसाईङ्को "द इनहेरिटेन्स् अफ लस", "सम्राट उपाध्यायको "द रोयल गोस्ट", "माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म" पनि पछिल्लो समयमा निकै रुचाइएका पुस्तकहरु हुन् । यसैगरी नारायण ढकालको प्रेतकल्प पनि रुचाइएको किताब हो । जस उपन्यासमा पूरानो नेपाली समाजलाई सजीव रुपमा उतारिएको छ ।
पढन्तेहरु बढेपछि १० वर्ष अगाडि करीव २ हजार वटा मात्र पुस्तक पाइने बजार अहिले कम्तिमा २० हजारभन्दा बढी पाइन थालेका छन् ।
पुस्तक बजारको स्वरुप पनि फेरिएको छ । रामायण र महाभारतका कथा खोजिने बजारमा अहिले हयारी पोटटरका विभिन्न श्रृखलाहरु, पल्पसा क्याफेदेखि अन्तरर्मनको यात्रा सम्मले भरिएको छ । ननफिक्सन र सामाजिक क्रान्तिका पुस्तकहरु किन्नेहरुको पनि लामो लहड छ । साहित्यक किताबमा बढी तन्नेरीहरु पनि आकषिर्त भएका देखिन्छ । नेपाली बजारमा रुचाइएका पुस्तकहरुमा सबैभन्दा अग्रपंक्तिमा मुनामदन पर्छ । नेपालीभन्दा अङ्ग्रेजी साहित्यका किताबहरुले बजारमा ब्यापकता पाएको छ ।
अर्कोतिर किताब होइन सिनेमाहरुमा घट्टेकुलोका ललित थापाले प्रायजसो हिन्दी र अङ्ग्रेजी मुभीमा दिन बिताउँछन् । भर्खरै प्लस टु सकेका ललित हिन्दी र अङ्ग्रेजीमा पनि कमेडी र लभस्टोरी फिल्मका फ्यान हुन । भन्छन्-"मलाई कमेडी फिल्महरु बढी मनपर्छ । लभस्टोरी भएका फिल्महरु पनि हेर्ने गर्छु ।" फिल्मी गफमा उनले भर्खरै आफुले हेरेको फिल्म लभ आजकलको प्रंशसा गर्न पनि भ्याए । लभ आजकल हामीजस्तै टिनएजरहरुको लागि बनाइएको फिल्म रहेछ उनले भने ।
अङ्ग्रेजी सिनेमा चलाउने एउटामात्र हल कुमारी सिनेमा हलमा टिकट लिनका लागि युवाहरुको तछाड मछाड नै चल्छ । यस्तै हिन्दी सिनेमा हेर्नेहरुको लस्कर पनि लामै हुन्छ । प्रत्येक शुक्रबार नयाँ चलचित्र रिलिज हुँदा टिकटका लागि मारामार नै पर्छ । तर, नेपाली सिनेमामा भने नयाँ पुस्ताले त्यति रुची दिइएको पाइदैन ।
एउटै किसिमको प्रविधि, कथावस्तु, प्रस्तुतीकोशैलीले नेपाली सिनेमाप्रति उनीहरुको रुची नगएको हो । हयारी पोटटर, ब्याटम्यान श्रृखला र ट्रान्सफरमरजस्ता विशाल हलिउडी शैलीका फिल्महरु हेर्ने बानी परिसकेकोहरुका लागि गुणस्तर बृद्धि गर्न नसकेको नेपाली चलचित्र जगतले कुनै खुराक पस्कन सक्दैन । चामत्कारिक, एनिमेटेड, काल्पनिक र भब्यशैलीका फिल्महरु मात्र यसतर्फ आकर्षणका कारण होइनन् । तन्नेरीहरु विषयवस्तुको घुमाइफिराइ र चमकधमकभन्दा विषयवस्तु सुल्झाइएको फिल्म हेर्न चाहन्छन् । जो नेपाली चलचित्रमा पाइदैन । विषयवस्तुको स्पष्ट प्रस्तुतीकरण र स्पष्ट अन्त्य हुनु अङ्ग्रेजी र हिन्दी सिनेमाप्रति युवाहरुको मोहका कारण हुन ।
मनोरञ्जनमा मात्र लिप्त भएको छ एउटा तप्का नै जो किताबमा हयारी पोटटर पढ्दैन । बरु डिभिडी, भिसिडीमा नै हृयारी पोटटरका श्रृखलाहरुमा झुम्मिरहेको हुन्छ । विशेषज्ञहरुका अनुसार यो प्रविधिमा भएको चामत्कारिक परिवर्तनले प्रभाव हो ।
No comments:
Post a Comment